FAQs Complain Problems

परिचय : घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ । यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाको जम्मा कूल क्षेत्रफल १६६.७७ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको वडा नं. १ अमले अन्तर्गत घ्याङलेख गाउँपालिकाको सबभन्दा अग्लो चुचुरो महाभारत तथा फापरचुली समुन्द्री किनाराबाट २१०० मिटर उचाईमा पर्दछ । उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावा पानी पाईने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाईन्छ । काष्ठ र प्रकाष्ठ दुबै खाले वनस्पतिको उपलब्धता यस क्षेत्रको वनजंगलको विशेषता रहेको छ । यस गाउँपालिकाको जम्मा घरधुरी २४५७ र जम्मा जनसंख्या १३७६१ मध्ये पुरूष ६४७१ र महिला ७२९० रहेका छन् ।

यस घ्याङलेख गाउँपालिका वडा नं. २ अन्तर्गतको सातदोबाटो हुँदै नाङ्गे डाँडा भन्दा माथि रहेको घ्याङ डाँडोबाट नै यस गाउँपालिकाको नाम घ्याङलेख रहन गएको भनाई यहाँका बुद्धीजीबिहरूको पाईन्छ । तामाङ भाषामा ‘घ्याङ’ भन्नाले गुम्बा र ‘लेख’ भन्नाले अग्लो डाँडा जनाउने हुँदा सो अग्लो डाँडामा तामाङहरूको गुम्बा रहेकोले यस ठाउँको नाम घ्याङलेख रहन गएको देखिन्छ । यस घ्याङलेख डाँडामा परापूर्वकाल देखि नै माघे संक्रान्तिका दिन (कही बुद्धीजीबिहरूका अनुसार बैशाख संक्रान्तिका दिन) ठूलो मेला लाग्ने गरेको र यस क्षेत्र वरिपरिका मानिसहरू उक्त मेला भर्न ठूलो संख्यामा आउने गरेको तथ्यबाट पनि यो ठाउँको ऐतिहासिक महत्व झल्किन्छ । वर्तमान समयमा यस ठाउँमा मेला लाग्ने प्रचलन हराएता पनि यस ठाउँको एेतिहासिक महत्वलाई पूनर्ताजगी गराउने उदेश्यले यहाँका राजनीतिक अगुवाहरूले यस गाउँपालिकाको नाम घ्याङलेख राख्नु पर्नेमा जोड दिई सोही बमोजिम यस गाउँपालिकाको नामाकरण गरिएको देखिन्छ ।

आर्थिक वर्ष: